Rule 76
असाधारण पारिवारिक निवृत्तिभरण र उपदान
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीको कर्तव्य पालन गर्दा वा तालीम लिँदा अस्वस्थ्य भई वा कुनै दुर्घटनामा परी वा चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी अवधि जतिसुकै वर्ष पुगेको भएता पनि निजको परिवारको सदस्य मध्ये नियम ७४ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीले खाइपाइ आएको तलबको आधा रकम असाधारण पारिवारिक निबृत्तिभरण र देहाय बमोजिमको असाधारण पारिवारिक उपदान समेत दिइनेछ :–
(क)   दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाइ आएको छ महिनाको तलब बराबरको रकम,
(ख)   दश वर्षदेखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाइ आएको नौ महिनाको तलब बराबरको रकम,
(ग)   बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाइ आएको एक वर्षको तलब बराबरको रकम ।
            (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सशस्त्र प्रहरी कर्मचारी हतियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूह विरुद्धको कारबाहीमा खटिएका बखत कुनै आकस्मिक दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक सशस्त्र प्रहरी कर्मचारीलाई मरणोपरान्त माथिल्लो पदमा बढुवा गरी सोही पद अनुसारको पूरा तलब निजको परिवारलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म दिइनेछ । यसरी पूरा तलब पाउने अवधि व्यतित भएपछि मृतक सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि निबृत्तिभरण पाक्ने अवधिभन्दा कम भएमा निबृत्तिभरण पाकेको अवधि सरह र निवृत्तिभरण पाक्ने अवधिभन्दा बढी भएमा सोही बमोजिम मृतक सशस्त्र प्रहरी कर्मचारीको परिवारले निवृत्तिभरण पाउनेछ ।
(३) उपनियम (२) बमोजिम सशस्त्र प्रहरी कर्मचारीको परिवारले तलब पाइरहेको अवस्थामा बहालवाला सशस्त्र प्रहरी कर्मचारीको तलबमानमा बृद्धि भएमा सशस्त्र प्रहरी कर्मचारीको परिवारले पाउने तलबमा समेत सोही बमोजिम वृद्धि हुनेछ ।
(४) यस नियम बमोजिम असाधारण पारिवारिक निवृत्तिभरण र उपदान मृतक सशस्त्र प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजीवन र छोरा वा छोरी भए एक्काईस वर्षको उमेर पूरा गरेको वा विवाह वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(५) कर्तव्य पालनाको सिलसिलामा खटिएको वा खटिने क्रममा बाटोमा आउँदा जाँदा वा अन्य कार्य गर्दा बाटोबाट वा कार्यस्थलबाट अपहरणमा परी हत्या भएको सूचना प्राप्त भएको तर लास फेला पर्न नसकेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी र सम्बन्धीत सशस्त्र प्रहरी कार्यालयको प्रमुखको संयुक्त प्रतिवेदनको आधारमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको परिवारलाई उपनियम (२) बमोजिमको सुविधा दिइनेछ।
(६) अमर सशस्त्र प्रहरी कर्मचारीको पति वा पत्नीको पारिवारिक निवृत्तिभरण उपभोग गर्दा गर्दै मृत्यु भएमा निजले खाइपाइ आएको पारिवारिक निवृत्तिभरण निजको छोरा छोरी भएमा जतिजना छोरा छोरीहरु छन्, सबैले दामासाहीले भाग गरी उमेर एक्काईस वर्ष पुरा नभएसम्म पाउने र एक जनाको उमेर एक्काइस वर्ष पुरा भएपछि निजले पाउँदै आएको निवृत्तिभरण क्रमशः पछिको भाई/बहिनीहरुमा थपिदै जानेछ ।